‘के घर के डेरा: घर नम्बर २’ मा खगेन्द्र लामिछाने


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा’ बक्स अफिसमा सफल सावित भएको थियो । दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, बर्षा राउत लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको थियो। बक्स अफिसमा सफलता हासिल गरेको यो चलचित्रको निर्माण कम्पनीले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ। ‘के घर के डेराः घर नम्बर २’ नाम राखिएको चलचित्रलाई दिपेन्द्रले नै निर्देशन गर्नेछन्।

यो चलचित्रमा मुख्य अभिनेताको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। खगेन्द्रको जन्मदिनको अवसर पारेर निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो। साउन २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको चलचित्रको यतिबेला प्रि–प्रोडक्शनको भैरहेको छ। ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा अन्य कलाकार भने सार्वजनिक गरिएको छैन।

चर्चित लेखक बुद्धिसागरको लेखन रहने चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । कार्यकारी निर्माता युवराज कार्की रहेको चलचित्रमा सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । खगेन्द्र र दिपेन्द्रको सहकार्य धेरै चलचित्र हुँदै आएको छ। दुवैको पछिल्लो सहकार्य मेयर रिलिजको तयारीमा रहेको छ। अब चलचित्रमा के घर के डेराका कलाकार दोहोरिने हुन् या हैनन् त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्