दया र मिरुनाको ‘घरज्वाइँ’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया


असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’ को ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। पोष्टर रिलिज देखि नै राम्रो चर्चा पाएको चलचित्रको ट्रेलरले पनि दर्शकको मन जित्न सफल भएको छ। चलचित्रको केहि दिन अगाडी सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको छ । चलचित्रको ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा पनि दर्शक उत्साहित रहेको देख्न सकिन्छ । चलचित्रको ट्रेलरको कमेन्टमा दर्शकले दया र मिरुनाको जोडीलाई पनि रुचाएका छन् ।

ट्रेलरको कमेन्ट बक्समा प्रवीन गुरुङले लेखेका छन्, ‘कबड्डीमा हिमालको थकाली, जारीमा पूर्वको लिम्बु, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दया मिरुनको जोडी ।’

अर्का कमेन्टर सनिम वान्तवा लेख्छन्, ‘सिनेमा समाजको एना हो । रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभुषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाइँ हेर्नु आतुर छु ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्