अभाव र संघर्षमा ठोक्किएर टल्किएको एउटा हिरा, करण परियार


करण परियार बर्दियामा जन्मिएका १९ बर्षीय ठिटो , जो यतिबेला चौतर्फी चर्चामा रहेका छन्। बर्दियाबाट काठमान्डौ संगीतको भोक पुरा गर्न हिडेका करणको लागी पहिलो चुनौती थियो, पेटको भोक पुरा गर्नु। आफ्नै बुबासंग ५ बर्षमा केहि गरेर देखाउने समय मागेर हिडेका करणले काठमान्डौ को करिव १ बर्षको बसाइमा नै नेपाल आइडलको पाँचौ सिजनको ट्रफी चुमे। उनको यो अद्भुत सफलताको पछाडी अभाव, भोक र बच्ने संघर्षको ठुलो योगदान रहेको छ। बर्दियाबाट काठमान्डौ आएर काम सुरु गरेका करणको यो यात्रा सुरु भयो संगीतका गुरुले देखाईदिएको नेपाल आइडलको बाटोबाट। करण हिन्दी गीत गाउँथे । नेपाली गीतमा उनको दक्षता कमै थियो। उनको परिवेश र हुर्काई पनि हिन्दी गीतको आसपासको भएर होला उनलाई नेपाली भन्दा हिन्दी गीतको मोह बढी थियो। इन्डियन आइडलमा जाने सपना बोकेका करण नेपाल आइडलको पाँचौ सिजनको बिजेता बनेर निस्किए।

उनको यो सफलताको यात्रामा संगै काँध थप्ने साथी छन्, रोहित सुन्दास। रोहित र करणको मित्रताको कथा झन् रोचक छ। दाङ्गको एक गायन प्रतियोगितामा भेट भएका यी दुईले साथ गाउने सपना देखे र साथ काठमान्डौ छिरे। करणको पेटको भोक धेरैपटक रोहितले मेटाएका छन् अनि संगीतको भोक पुरा गर्ने सहयात्री बनेका छन्। भनिन्छ नि एउटा साथीको साथले कति फरक पर्दछ जीवनमा ठ्याक्कै यो मिल्छ यी दुईको मित्रतामा।

आफ्नो यात्रामा अवरोध आउँछ भनेर यी दुवैले समाजिक संजालबाट आफैलाई पर राखे । एक अर्काको हौसला बने र निरन्तर हिडिरहे। दुवै नेपाल आइडलको अडिसनमा पुगे । रोहित सुरुबाटै बाहिरिए, तर करणले दुवैको सपना पुरा गरे। गोल्डेन माईक हुँदै विजेताको ट्रफीसम्म करणको यो यात्राको साक्षी नेपाली भाषी सबै बने ।

आइडलको यात्राले करणलाई संगीतमा व्यस्त बनाएको छ । उनले अब्बल संगीतकारसंग गीत रेकर्ड गरिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई भेटेर गीतार उपहार दिए।

उनी यसलाई आफ्नो जीवनको एउटा ठुलो सफलता मान्छन् । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सारंगी उपहार दिए। लामो स्टाटस लेख्दै करणको तारिफ गरे।

एउटा ठिटो जो गाउन मात्र जान्दथ्यो तर भोक र अभावले अनेक ठक्कर दियो। उही करण आफ्नो साथी लिएर हाम्रो स्टुडियोमा पुग्दा दंग देखिन्थे। परिवार र गाउँले नै विश्वास नदेखाएको करणको परिवार र गाउँ नै यतिबेला दंग छ । अभावमा टल्किएको करण यस्तो हिरा हुन् जसले सपना पुरा गर्न हजारौलाई प्रेरणा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्