कस्तो देखिएला प्रदिप खड्का र सुहाना थापाको जोडी ?


झरना थापाको निर्देशनमा तयार भएका ‘ए मेरो हजुर’ का तीन शृंखला २,३ र ४ ले दर्शकको राम्रो साथ पाए। ए मेरो हजुर २ मार्फत अभिनेता सलिनमान बानियाँ नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरे । यो चलचित्र बक्स अफिसमा सफल रह्यो । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह सलिनको अपोजिटमा रहेकी थिइन्। यहि चलचित्रको प्रिमियरको दौरान अमेरिका बस्ने झरना थापा सुपुत्री सुहाना थापा नेपाली मिडियाको नजरमा परेकी थिइन्।


उनै सुहानालाई अनमोल केसीको अपोजिटमा डेव्यु गराउदै ‘ए मेरो हजुर ३’ निर्माण भयो । अनमोल र सुहानाको जोडीलाइ दर्शकले रुचाए। चलचित्र सफल बन्यो । अभिनेत्रीको रुपमा सुहानाको डेव्यु सुखद बन्यो। ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाको जोडी झरनाले दोहोर्याइन्। यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्यो। यो बीचमा झरनाले फरक कथाको कोसिस स्वरुप ‘एक भगवत एक गीत’ निर्देशन गरिन् । विपिन कार्की, धिरज मगर, सुहाना थापा जस्ता कलाकार हुँदा पनि चलचित्रले बक्स अफिसमा दम तोड्यो।

अब झरना चलचित्र ‘ए मेरो हजुर ५’ को तयारीमा जुटेकी छिन्। यो चलचित्रमा सुहाना थापा नै मुख्य अभिनेत्रीको रुपमा रहने पक्का जस्तै छ। हिरोमा अनमोल केसी दोहोरिने सम्भावना कायमै छ । चलचित्र ‘फर्की फर्की’ को प्रिमियरमा निर्माता सुनिल कुमार थापाले हामीसंगको कुराकानीमा ‘ए मेरो हजुर ५’ को मेरो हिरो भन्दै अनमोलको तारिफ गरेका थिए। तर यो चलचित्रमा प्रदिप खड्का रहन सक्ने चर्चा समेत रहेको छ। अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका छन्। प्रदिप र सुहानाको जोडी भएमा दर्शकले फ्रेसनेस पाउनेछन्। प्रदिपको हातमा ब्याक टू ब्याक चलचित्र रहेका छन् । अनमोल पनि आफ्नो नयाँ चलचित्रको सुटिङ्गमा व्यस्त रहेका छन्। झरना-सुनिलको जोडीले चलचित्र कहिले सुरुवात गर्ने घोषणा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्