मगर समुदायको कथामा ‘घर ज्वाइँ’ को अब्बल प्रस्तुती (ट्रेलर)


अभिनेता दयाहाङ राईले फरक फरक समुदायका कथालाई चलचित्रमा आफ्नो चरित्र मार्फत प्रस्तुत गरिरहेका छन् । यो पटक दयाले पूर्वी रुकुमको मगर समुदायको कथा चलचित्र ‘घर ज्वाइँ’ मार्फत बोलेका छ। पोष्टर सार्वजनिक देखि सकारात्मक प्रतिक्रिया बटुलिरहेको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले मगर समुदाय भित्र एक जोडीले आफ्नो प्रेम र वैवाहिक जीवन स्थापित गर्न गर्ने संघर्ष प्रस्तुत गरिएको छ। मगर सुमदायमा भान्जालाई ज्वाइँ सम्बोधन गर्ने प्रचलन रहेको छ। मामाकी छोरीलाई भान्जाले विवाह गर्ने हक समेत रहेको छ । तर त्यहि भित्र आफ्नो छोरीलाई पाल्न सक्ने हरेक सिप आफुमा रहेको प्रमाणित गर्नुपर्ने प्रचलन समेत रहेको छ। ट्रेलर यसकै वरिपरि घुमेको छ।

मिरुना मगर दयाको अपोजिटमा रहेकी छिन् । समुदायका कथामा आधारित चलचित्रमा दया र मिरुनाको जोडीलाई दर्शकले रुचाएका छन् । यो चलचित्रमा पनि दुवैको केमेष्ट्री आकर्षक देखिएको छ। जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्रमा सुशन प्रजापतिको छायांकन रहेको छ। शिशिर वाङ्देल, राज थापामगर, कविता आले मगर, वुद्दि तामाङ, पुष्कर गुरुङ, अनु थापा, सुनिल मगर, भोलाराज सापकोटा, खबपु पुन, विना थापा मगर लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । चलचित्र असार २८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्