‘घरज्वाइँ’ गीत ‘बिन्जुरी’ मा दया र मिरुनाको प्रेम


नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयको सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगर अभिनित नयाँ चलचित्र ‘घरज्वाइँ’ रिलिजको तयारीमा रहेको छ। मगर संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्रको नयाँ गीत निर्माण टिमले सार्वजनिक गरेको छ। शुक्रबार निर्माण टिमले चलचित्रमा समावेश रहेको ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगीको संगीत र स्वर रहेको गीतमा राम अविरल बिष्टको शब्द रहेको छ।

सार्वजनिक गीतको भिडियोमा दया र मिरुनाको प्रेमभाव देखाइएको छ। मिरुना प्रति दयाको प्रेम भिडियोमा प्रस्तुत गरिएको छ। मिरुनालाई गीतमा ‘बिन्जुरी’ को रुपमा प्रस्तुत गरिएको छ । बिन्जुरीको अर्थ फूल हुन्छ। अनिल बुढामगरको निर्देशनमा तयार भएको चलचित्रलाई जनक घर्ति मगरले निर्माण गरेका छन्। असार २८ गतेबाट रिलिज हुने चलचित्र जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। निर्देशक अनिलको कथा रहेको चलचित्रलाई पूर्वी रुकुम आसपासमा छायांकन गरिएको छ ।


सुसन प्रजापतिले खिचेको चलचित्र लाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् । चलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्