साम्राज्ञी र धिरजको ‘रुमानी रङ्ग’ बाट निर्देशक बाहिरिए, निर्माण अन्यौलता बढ्यो


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता धिरज मगरले चलचित्र ‘इन्टु मिण्टु लन्डनमा ‘ मा संगै सहकार्य गरेका थिए। यो चलचित्रको सफलताले यी दुईको जोडीलाई दर्शकमाझ झन् लोकप्रिय बनायो। करियरको आ-आफ्नो यात्रा अगाडी बढाई रहेका यी दुवैलाई लिएर नयाँ चलचित्र ‘रुमानी रङ्ग’ को निर्माण घोषणा गरिएको थियो । केहि समय अगाडी घोषणा गरिएको चलचित्रले दुवैको करियरलाई सफलता मिल्ने आंकलन गरिएको थियो। दुवैको लागी यो चलचित्र महत्वपूर्ण रहेको छ। लगातार बक्स अफिसमा असफल चलचित्र बन्दै आएका यी दुवै साथ आउँदा सफल हुने आंकलन गरिएको थियो। तर यो चलचित्रको निर्माण अन्यौलता कायम भएको छ। चलचित्रका निर्देशक अनिल योञ्जनले चलचित्र छाडेका छन् । उनले आफ्नो सामाजिक संजाल मार्फत चलचित्रबाट बाहिरिएको जानकारी दिएका हुन्। निर्माता टिमसंग समस्या परेको कारण आफु चलचित्रबाट बाहिरिएको उनले उल्लेख गरेका छन्।

उनी लेख्छन्, ‘धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ। मैले आधिकारिक रूपमा यो परियोजनाबाट २ जुनमा राजीनामा दिएको थिएँ। मेरो राम्रो प्रयास र प्रतिबद्धताका बाबजुद चलचित्रको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरू देखे पछि, जुन मुख्यतया निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले उत्पन्न भएका थिए। यी समस्याहरूले ढिलाइ निम्त्याएको थियो र चलचित्रको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखे पछि मैले राजीनामा दिएको हो।


म यस प्रोजेक्टमा संलग्न हुँदा सहयोग गर्ने र मेरो लेखन कृति र निर्देशनमा विश्वास गरी साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । म यो प्रोजेक्टबाट आफ्नै इच्छाले बाहिर निस्कन परेको छ, यसर्थ म निराश पनि छु।
राजीनामाको बरेमा ढिलो सूचित गरेकोमा क्षमा माग्छु। निर्माण पक्षले नयाँ निर्देशक खोज्न समय मागेको हुनाले मैले यो खबर पहिले नै निकाल्न सकिन। निर्माता टिमसँग मेरा जे जति समस्याहरू भएता पनि म अझै ‘रुमानी रङ्ग’ प्रोजेक्टलाई र निर्माता टिमलाई सफलताको कामना गर्दछु।’

९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमामा खिचिने बताईएको चलचित्रको लागी नाया निर्देशकको खोजी भैरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्