‘छक्का पन्जा’ बाहिर एकसाथ चलचित्रमा देखिदै जितु र केदार


सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। चलचित्रका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो ।

चलचित्रमा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिब गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने चलचित्रको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बन्दै गएको छ ।

यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। हाल अष्ट्रेलीयामा चलचित्रको लागि छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए। ३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने बताए । यो चलचित्र फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।

छक्का पन्जा टिमसंग जितुको सहकार्य छुटेपछि जितु र केदारको यो पहिलो चलचित्र सहकार्य हो। जितु पछिल्लो समय लगातार चलचित्रमा काम गरिरहेका छन्। जितु र केदारको चलचित्रको पुनर्मिलन कस्तो रहने हो त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्