‘होस्टेल ३’ मा रिहान पदम र सिम्रनको इन्ट्री


सशान कँडेलको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘होस्टेल ३’ को मुख्य कलाकारको लाइनअप पुरा भएको छ। होस्टेलको पहिलो सिरिज देखि नै ३-४ जना लिड कलाकारको अभिनय रहने गर्दै आएको छ । होस्टेल ३ को शिर्ष भूमिकामा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए।

अव यो चलचित्रमा अन्य तीन कलाकारको इन्ट्री भएको छ। यो चलचित्रमा सिक्किमका कन्टेन्ट क्रिएटर पदम तामाङ्ग, गायक रिहान गिरी र मोडल सिम्रन पन्तको प्रवेश भएको छ। अब दुई प्रमुख कलाकार चलचित्रमा अनुबन्धित हुन बाँकी रहेको निर्माण टिमले बताएको छ ।


भुटानका रिहान गिरी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्। यस अगाडी नै चलचित्रमा डेव्यु गर्न लागेका उनी भिषा समस्याका कारण काम गर्न पाएका थिएनन्। अब रिहानले होस्टेल ३ बाट डेव्यु गर्ने पक्का भएको हो।


अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ रहेका छन्। उनले यसअघि पनि केही नेपाली चलचित्रका स्क्रिप्ट पढेको तर चित्त नबुझेपछि काम नगरेको बताए।

सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। उनको लक्ष्य चलचित्र नै भएता पनि ‘स्क्रिन टेस्ट’ र अभिनयको निखरताको लागि केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्। नयाँ तर सशक्त अभिनय गर्न सक्ने र चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको जरुरत रहेकोमा सिम्रनको लगाव र काम हेरेर यस चलचित्रमा लिएको निर्देशकको भनाई छ। ‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुन लागेको चलचित्रको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।

प्रतिक्रिया दिनुहोस्