‘बलिदान’ मा विराज भट्टका छोरा समिर भट्ट


निर्माता तथा निर्देशक सन्तोष शेन नयाँ कलाकारलाई नेपाली चलचित्र क्षेत्रमा भित्र्याउने व्यक्तिको रुपमा परिचित रहेका छन्। प्रदिप खड्का र पूजा शर्मा उनकै निर्माणमा तयार भएको चलचित्र ‘प्रेमगीत’ बाट उदाएका थिए।

उनै सन्तोष नयाँ चलचित्र ‘बलिदान’ को तयारीमा रहेका छन्। चर्चामा रहेको चलचित्रको मुख्य खलनायकमा सौगात मल्ल केहि समय अगाडी अनुबन्धित भैसकेका छन्। हिरोको खोजी गरिरहेको चलचित्रको टिमले नयाँ अभिनेता भित्र्याएको छ। एक्सन स्टार विराज भट्टका छोरा समिर भट्ट चलचित्रमा मुख्य नायकको रुपमा फाइनल भएका छन्। एक तस्विर सार्वजनिक भए देखि नै चर्चामा रहेका समिरलाई भविष्यको स्टारको रुपमा हेरिएको छ। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

आसुसेन फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको टीमले समिरको फस्टलुक पोष्टर समेत सार्वजनिक गरेको छ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।
चलचित्र २०८१ को दशैँमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्