‘दयारानी’ को प्रिमियर पोखरामा, मेयर देखि मन्त्रीले गरे प्रशंसा


माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दयारानी’ को प्रिमियर पोखरामा सम्पन्न भएको छ। आइतबार पोखराको मिडटाउन सिनेमाजमा आयोजित प्रिमियरमा पोखराका मेयरदेखि वडा अध्यक्षसम्मले चलचित्र हेरेर तारिफ गरेका थिए। माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्रको कथा ,कलाकारको अभिनय र निर्देशनको तारिफ भएको थियो। प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, संगीतकार राजनराज सिवाकोटी, फिल्मका निर्देशक माओत्से गुरुङ, अभिनेत्री दीया पुन लगायतको उपस्थिति थियो । कास्की जिल्लामा खिचिएको चलचित्र भएकाले यसको पहिलो प्रिमियर पोखरामा गरिएको हो। काठमान्डौमा यसको प्रिमियर बिहिबार गर्ने तयारी गरिएको छ।

प्रिमियरमा मेयर आचार्यले पोखरामा पछिल्लो समय साहित्य, कला तथा चलचित्र सम्बन्धी गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए । पूर्व अर्थमन्त्री किरण गुरुङले भने माओत्से गुरुङको लेखन र निर्देशनको प्रशंसा गरे । उनले भने- ‘निःसन्तान हुँदा घर-परिवार र समाजले हेर्ने दृष्टिकोणलाई चलचित्रमा देखाइएको छ । हरेक एक कलाकारले निर्वाह गरेको भूमिका र कथा उत्कृष्ट छ ।’

मादी गाउँपालिकाका अध्यक्ष गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोट क्षेत्रमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी, निर्देशक गुरुङले अभिनय भन्दा निर्देशन गाह्रो हुने अनुभव सुनाए । उनले भने- ‘कलाकार भएर थुप्रै चलचित्रमा काम गरियो । मलाई निर्देशनभन्दा अभिनय सहज लाग्छ । निर्देशन गर्दा जिम्मेवारी धेरै हुन्छ ।’

अभिनेत्री पुनले भने ‘दयारानी’ले आफ्नो करिअरमा एउटा इट्टा थप्ने विश्वास व्यक्त गरेकी छन् । सामाजिक परिवेशलाई उतारिएको चलचित्रमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको उनले बताइन् । चलचित्रमा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ ।

प्रतिक्रिया दिनुहोस्